नवलपुर । नवलपुरमा रहेका पेट्रोल पम्पमा नापतौल कार्यालयले अनुगमन गरेको छ । नापतौल कार्यालय बुटवल, जिल्ला प्रशासन कार्यालय नवलपुर सहितको टोलीले जिल्लामा रहेका पेट्रोल पम्पहरुको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत भरत सापकोटाले बताउनुभयो ।
टोलीले कावासोती, देवचुली र गैँडाकोटका केही पेट्रोल पम्पको अनुगमन गरेको हो । पेट्रोल पम्पले बिक्रि गर्दै आएको परिमाणको चेक गरिएको गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरिक्षक गणेश पौडेलले बताउनुभयो । पम्पहरुले बिक्रि गर्दा देखाउने लिटर ठिक भएनभएको एकिन गर्न अनुगमन गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा गरिएको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा केहिमा परिमाणमा सामान्य कैफियत देखिएको छ । त्यस्ता पम्पहरुलाई तीन दिनभित्र सुधार गर्न निर्देशन गरिएको प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । जिल्लामा पेट्रोल पम्पको परिमाणको अनुगमनसँगै आयल निगमसँग समन्वय गरि गुणस्तरको समेत परिक्षण गरिने सापकोटाले बताउनुभयो ।