कावासोती
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज आईतबार देखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भन्ने गरीएको
हो ।
दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।
यसै बिच अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८० सालको बडादशैं (विजया दशमी) को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने जनाएकोछ । नेपालमा भने ११ बजेर २ मिनेटमा टीकाको उत्तम साईत रहेको जनाएकोछ । विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ ।
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०८० असोज २२ गते जारी प्रेस विज्ञप्तिमा विजया दशमीको टीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ ।