२०८० श्रावण ३, बुधबार
मीनाक्षी कंडेल,नवलपुर
जिल्ला ट्राफिक कार्यालय नवलपुरले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ। सवारी नियम उल्लङ्घन कसुरको जरिवाना बैंकबाट भुक्तानी गर्नुपर्ने व्यवस्था भए अनुसार जिल्लामा पनि १ गतेदेखि बैंकबाट भुक्तानी सुरु गरिएको हो ।सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवाना बापतको राजश्वलाई बैंकिङ प्रणालीमा राख्ने व्यवस्था गरे अनुरुप यहाँ सुरुवात गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले जानकारी दिए । जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले राष्ट्रिय वाणिज्य बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । जरिवाना तिर्न लागि ट्राफिक प्रहरी कारबाहीका परेका सवारी साधनका चालकले प्राप्त भएको ट्राफिक जरिवाना सम्बन्धी पूर्र्जी लिएर राष्ट्रिय वाणिज्य बैंकको शाखामा जानुपर्नेछ ।
श्रावण १ देखि जिल्लामा कसैले सवारी नियम उल्लंघन गरेमा निजको कागजपत्र राखी २४ घण्टे पुर्जि जारी गर्ने छ । उक्त पुर्जि वमोजिमको सवारी उल्लंघनकर्ताको विवरण टि।भि।आरएस प्रणालीमा जिल्ला ट्राफिक कार्यालयले ईन्ट्री गरेपछि उक्त विवरण बैंकिङ प्रणाली वा अनलाईन प्रणालीमा समेत देखिने प्रमुख पौडेलले बताए । यसरी बैक दाखिला गरेको भौचर वा अनलाईन तिरेको प्रमाणको आधारमा खिचिएका वा नियन्त्रणमा लिईएका कागजपत्रहरू सम्बन्धित कार्यालय मार्फत नै फिर्ता लिन सकिनेछ ।