कावासोती । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीविरुद्ध डरलाग्दो घेराबन्दी भएको बताएका छन् । जिल्ला सदरमुकाम कावासोतीमा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।सरकारले छानविन गर्नु पर्ने भ्रष्टाचारका अनेक काण्डहरु भए पनि पछिल्लो समय विनासन्दर्भ पशुपति मन्दीरको सुन काण्डको विषय उठाएर आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भएको उनको भनाइ थियो ।एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङले केही शक्तिहरु एमालेलाई सत्तामा जानै दिनुहुन्न भनेर हात धोएर लागेको टिप्पणी गरे । सरकारको नेतृत्व पनि कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) ले गरेको र प्रमुख प्रतिपक्षी पनि कम्युनिष्ट (नेकपा एमाले) भए पनि यी दुई पार्टीबीच बेमेल रहेको गुरुङले बताए ।हाल सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको नीति र सिद्धान्त एमालेको फोटोकपी भएको भन्दै उनले विभिन्न चिरामा विभाजित कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।उपमहासचिव गुरुङले पछिल्लो समय एमाले पार्टी पनि निक्कै अस्तव्यस्त भएको बताए । पार्टीका जनसंगठनहरुमा भद्रगोल अवस्थामा रहेको र एकर्काबीच सहकार्यको अवस्था पनि नरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।पार्टीले सञ्चालन गरेको मिशन ग्रासरुटका क्रममा पनि १८ देखि ३५ वर्ष उमेरको युवा पुष्ता कतै नदेखिएको भन्दै गुरुङले उनीहरु कहाँ गए ? भनेर प्रश्न गरे ।उनले अहिलेको सरकार राष्ट्रियता, स्वतन्त्रता र स्वाधिनताका हिसावले निक्कै संकटमा रहेको बताए । सरकारले ल्याएको बजेट कर्मकाण्डी, परम्परावादी, र निरासा र अस्थिरता ल्याउने खालको रहेको टिप्पणी गरे । । ६५ प्रतिशत बजेट एउटा (संघीय) सरकारलाई र बाँकी बजेर ७६० वटा (प्रदेश र स्थानीय) सरकारलाई वितरण गरेर संघीयता विरोधी बजेट ल्याएको गुरुङको भनाइ थियो ।प्रेस चौतारी नेपालले पत्रकारितामार्फत उत्कृष्ट योगदान पुर्याएको भन्दै विभिन्न पुरस्कारबाट पत्रकाहरु भविश्वर पाण्डे, दयाराम आचार्य र राजेश सुनामलाई पुरस्कृत गरेको छ ।

उनीहरुलाई जनही १० हजार नगद, प्रमाणपत्र र खादाले सम्मान गरिएको हो ।कार्यक्रमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्मा, नवलपुरका जिल्ला सभापति विरेन्द्र पराजुली, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, चौतारिका महासचिव हिरा लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव बोमलाल गिरीलगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
