बलात्कारको मुद्दामा पीडित नाबालिका ’होस्टाइल’ (बयान फेर्ने काम) भइदिँदा उजुरी दिएको डेढ महिनामा नै आरोपितले सफाइ पाएका छन् । बलात्कारको मुद्दामा नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले मंगलबार ’द्रुतगति’मा चितवन जिल्ला अदालतबाट सफाइ पाएका हुन् । आफूलाई प्रयोगात्मक नम्बर थपिदिने भन्दै काफ्लेले पटकपटक बलात्कार गरेको भनी प्रहरीमा उजुरी दिएकी १७ वर्षीया नाबालिकाले सरकारी वकिलको कार्यालयमा भने कुनै घटना नभएको भनी बकपत्र दिएकी हुन् । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको कल इजलासले काफ्लेलाई सफाइ दिएको हो । बलात्कार मुद्दामा पीडितलाई आरोपित पक्षले धम्काउँदा वा प्रलोभनमा पार्दा पीडित होस्टाइल भई बयान फेर्ने गरेको विगतको नजिर छ । यस घटनामा प्रहरीलाई जानकारी नै नदिई सोझै सरकारी वकिलको कार्यालयमा लगेर पीडितको बकपत्र गराइएकाले थप आशङ्का देखिएको छ ।वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले दिएको उजुरीअनुसार पीडितलाई आरोपित काफ्लेले चितवनको सौराहा र शिवघाटका रिसोर्टमा लगेर बलात्कार गरेका थिए। जाहेरी दिएको भोलिपल्टै पीडित र पीडितकी आमाले उजुरी फिर्ता लिने भन्दै प्रहरी कार्यालय पुगेपछि उनीहरुमाथि अनावश्यक दबाब भएको प्रहरीले अनुमान गरेको थियो । चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले यस घटनामा पीडित ’होस्टाइल’ हुन सक्ने भन्दै अधिकारकर्मीसँग सहयोगका लागि अनुरोध गरेका थिए। अधिकारीको सार्वजनिक अभिव्यक्तिलाई बल पुग्ने गरी पीडितको संरक्षकको तर्फबाट आमाले कागज गर्न अस्वीकार गरेकी थिइन् । २९ वर्षका काफ्लेलाई अदालतले जेठ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।