वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी नवलपुरका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
कावासोती नगरपालिकाको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा नवलपुर जिल्ला अदालका १ नम्बर न्यायाधिष अर्जुन अधिकारी, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसाल, नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जन, सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेका छ ।
अर्जुन अधिकारीलाई निर्वाचन आयोगले नवलपुरको मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार जिल्लाका आठवटै स्थानिय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
कावासोती नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तथा कावासेतीको निर्वाचन अधिकृतको कार्यालय रहने छ भने बाकी सात वटा स्थानिय तहमा पलिका स्तरिय तहमा निर्वाचन अधिकृतको कार्यालय रहने भुसालले बताए ।
यस अघि नै निर्वाचन आयोगले नवलपुरको मुख्य निर्वाचन अधिकृतमा अर्जुन अधिकारी, गैडाकोटमा दिपशिखा मुनाकमी, देवचुलीमा कमलराव पन्थी, बौदीकालीमा प्रेमराज दौत्याल, मध्यविन्दुमा महेन्द्रप्रसाद पौडेल, बुलिङटारमा देविप्रसाद आचार्य, विनयी त्रिवेणीमा लोकहरी कंडेल, हुप्सेकोटमा यज्ञमुर्ति ज्ञवालीलाई अधिकृतको रुपमा जिम्मेवारी तोकि सकेको छ भने कावासोती नगरपालिकको हकमा मुख्यनिर्वाचन अधिकृतमा अर्जुन अधिकारीको जिम्मेवारी रहने गरि कार्यालय स्थापना गरिएको हो ।
कार्यालय खुलेसँगै नवलपुरका पालिकाहरुमा निर्वाचनका लागि निर्वाचन अधिकृतले तयारी थालेका छन् ।
आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।१६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । साथै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यक्रम रहेको छ । बैशाख ३० गते मतदान हुने छ ।