नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छलि ल्याइएका खाद्यान्न वस्तु सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग ३ च ६४१४ नं को बलेरो जिपबाट प्रहरीले ८ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो ।प्रहरीले जिपबाट ब्रान्ज ५० बोरा, कनिका १२ बोरो, तोरी ९ बोरा गरी ८ लाख ४५ हजार ४ सय रुपैया बराबरको समान बरामद गरेको जनाएको छ ।प्रहरीले अवैध सामग्री ल्याउने बलेरो जिप, संगै चालक पनि नियन्त्रणमा लिएको र आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यलय बुटवल रुपन्देही पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ चालिसकिलो जंगलमा प्रहरीले चेकजाँचको क्रममा तोरी बरामद गरेको हो ।चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु १ ख १४१० नं को आईचर मिनी ट्रक रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा ५० के.जी.का दरले १२५ बोरा तोरी फेला पारी बिल भरपाई माग गर्दा उक्त बोराहरु मध्ये १०० बोरा तोरीको बिल भरपाई प्राप्त भएको र २५ बोरा तोरीको बिल भरपाई नभएकोले तोरी बरामद गरेको जनाएको छ ।प्रहरीले तोरी सँगै ट्रक, ट्रक चालक र सहचालकलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका २ जना, ट्रक र तोरी आवश्यक कारवाहीको लागि प्रहरीले आन्तरिक राजश्व कार्यलय बुटवल पठाएको जनाएको छ ।त्यसैगरी नवलपुरमा भन्सार छलि ल्याएको स्कुटीको टायर प्रहरीले बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय दुम्किबासले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट स्कुटीको ४० थान टायर बरामद गरेको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९०७५ नम्बरको बसमा बेवारिसे अवस्थामा ४० थान स्कुटरको टार प्रहरीले बरामद गरेको हो ।त्यसैगरी नवलपुर प्रहरीले दुम्किबासबाट मल पनि बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय दुम्किबासले विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट ७ बोरा युरिया मल बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ५ ख ४०१४ नम्बरको बसमा प्रति ४५ के.जि. भएको ७ बोरा युरिया मल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको दुम्किबास प्रहरीले जनाएको छ ।