कावासोती चैत्र १ गते
नवलपुर
चौथो मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि कावासोतीमा सुरु भएको छ । कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले उद्घाटन गर्नुभयो । फिफा एन्थम सहित रेफ्रीलाई बल प्रदान गरेर उहाँले खेलको उद्घाटन गर्नुभएको हो ।कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटी कावासोती १२ को सहआयोजना र वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले नवलपुर जिल्ला खेलको लागि उर्वर भूमि रहेको बताउनुभयो । नवलपुर जिल्ला हिजोदेखि खेल क्षेत्रमा देश विदेशमा चिनारी बनाउन सफल जिल्ला रहेको बताउदै खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभयो । खेलको माध्यमबाट देशको नाम अन्तराष्ट्रिय स्तरमा समेत चिनाउने खेलाडीहरु भएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादन गर्न मतद पुग्ने बताउनुभयो ।कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा न. १२ का अध्यक्ष खेम प्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यसैबीच उद्घाटन खेलमा कावासोती १६ बिजयी भएको छ । कावासोती १० र कावासोती १६ बीच भएको उद्घाटन खेलमा शुन्यका बिरुद्ध सात गोल अन्तरले कावासोती १६ बिजयी भएको हो । पहिलो हाफमै कावासोती १६ का जर्शी न. १० का खेलाडी सुमन बस्नेतले ह्याट्रिक गर्न सफल हुनुभएको थियो । उद्घाटन खेलको म्यान अफ दि म्याच पनि बस्नेत नै घोषित हुनु भई ट्रफि प्राप्त गर्नुभयो ।
आजबाट दैनिक दुई खेल हुनेछन् ।आजको पहिलो खेल कावासोती चार र नौ बीच हुनेछ भने , दोश्रो खेल वडा न. १५ र १७ बीच हुने डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।