देवचुली, एलिना केसी
देवचुलीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले दुई हजार मजदुरको स्वास्थ्य परिक्षण गर्ने भएको छ । चौधरी उद्योग ग्राममा कार्यरत दुई हजार कामदारको शुक्रबार शिविर संचालन गरि परिक्षण सुरु गरेको हो । उद्योगमा कार्यरत कामदारको स्वास्थ्यलाई लक्षित गरि आँखा, स्त्री तथा प्रजनन् स्वास्थ्य परिक्षण गरिएको उद्योगका महाप्रबन्धक खड्ग पौडेलले बताउनुभएको छ । पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको शिविरमा सिनियर म्यानेजर दुर्गा न्यौपाने, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। बुद्धिकुमार श्रेष्ठ, गाइनकोलोजी विभाग प्रमुख डा। रसिक न्यौपाने,ओपीडि इन्चार्ज प्रविन उपाध्याय लगाएतको टोलीले परिक्षण गरेको छ ।उद्योगका लागि कर्मचारीहरुको स्वास्थ्य आवश्यक पाटो भएकाले गुणस्तर सप्ताहको आयोजना गरिएको पौडेलले बताउनुभयो । उहाँले स्वास्थ्य शिविर संगै उद्योगले गुणस्तर सम्बन्धी कार्यक्रम हिजोका दिनमा पनि गरेको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उद्योगमा रहेका कामदारलाई स्वास्थ्य बनाउनु उद्योगको पनि दायित्व रहेकाले यस सप्ताह संचालन गरिएको उद्योगका नायब प्रबन्धक रामचन्द्र धितालले जानकारी दिनुभयो ।
उद्योगले संचालन गरेको स्वास्थ्य शिविर प्रति कामदारहरु पनि खुशी भएका थिए । उद्योगमा कार्यरत विमला अधिकारीले चिकित्सकहरु उद्योगमै बोलाएर स्वास्थ्य परिक्षण गराउँदा कामदारहरुको समयको बचतसँगै खर्चको पनि सदुपयोग हुने बताएकी छन् ।
यसैगरि अर्का कामदार कुलचन्द्र सापकोटाले उद्योगले बर्षको एकदिन मात्रै नभई महिना महिनामा सेवा प्रदान गर्न सके मजदुरहरु लाभान्वित हुने बताएका थिए ।उद्योगले स्त्री तथा प्रजनन् सम्बन्धि मात्र नभएर आखाँ सम्बन्धि परिक्षण पनि उद्योगका जनस्वास्थ्य अधिकृत सागर बस्ताकोटीले बताउनुभएको छ । उहाँका अनुसार उद्योगमा कार्यरत मजदुरहरुका लागि दुई चरण दिवा र रात्री सिफ्टलाई मिलाएर स्वास्थ्य परिक्षण गराईने बताउनुभयो ।
चौधरी उद्योगमा दुई हजार भन्दा बढि कामदार कार्यरत छन ।