जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले जिल्लाको सदरमुकाम कावासोतीबाट तपाईंको माक्स खोइ ? अभियान शुरु गरेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट आक्रमक रुपमा बढ्दै जादा यसको जोमिख बढेको भन्दै ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रमको रुपमा तपाईंको माक्स खोइ ? अभियान शुरु गरेको हो । क्रमिक रुपमा माक्सको प्रयोग गर्नेहरुको संख्या घट्दै गइरहेको र जिल्लामा कोभिड–१९ को संक्रमण दर पुनः तिब्र रुपमा फैलिएको कारण सबै नागरिकलाई माक्स प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्य सहित अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर नारायण थापाले बताउनुभयो ।

अभियानको आज जिल्लाको सदरमुकाम कावासोतीबाट शुरुवात गरिएको हो । यो अभियान जिल्लाका सबै ट्राफिक पोष्टहरु मार्फत जिल्ला भर नै सञ्चालन हुने इन्स्पेक्टर थापाले बताउनुभयो ।
अभियान अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्ग हुदै यात्रा गर्ने यात्रु र पैदल यात्रिहरुलाई ट्राफिक प्रहरी र नेपाल प्रहरीले माक्सको अनिवार्य प्रयोग गर्न सुझाव दिएका थिए । माक्स प्रयोग नगर्ने व्यक्तिहरुलाई प्रहरीले माक्स समेत प्रदान गरेको थियो ।
बसमा यात्रा गर्ने क्रममा अनिवार्यरुपमा माक्सको प्रयोग गर्न र सवारी सञ्चालक स्वयम्ले पनि बस तथा सार्वजनिक यातायातमा माक्सको व्यवस्थापन गर्न इन्स्पेक्टर थापाले अनुरोध गर्नुभयो । विगतमा समेत जिल्लामा तपाईंको माक्स खोइ ? अभियान सञ्चालन भएको थियो । जसबाट माक्सको अनिवार्य प्रयोग गर्नेहरुको संख्या उल्लेखनिय रुपमा बढेको अनुभव प्रहरी तथा प्रशासनको छ । तर, पछिल्लो समय कोभिड–१९ संक्रमणको दर न्यून हुदै गएको भन्दै माक्सको प्रयोग गर्नेको संख्या घट्दै गएको थियो । पुनः कोभिड–१९ संक्रमणको दर बढ्दै जादा यसको जोखिमलाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरिएको इन्स्पेक्टर थापाले बताउनुभयो ।