कावासोती ,पौष २७ । कावासोती नगरपालिका बिस्तारै डिजिटलाइजेसन तर्फ अगाडी बढिरहेको छ। यसै क्रममा नगरपालिकाले घरनक्शा पास अनलाइनबाटै हुने व्यवस्था मिलाएको छ । अनलाइनबाटै घर नक्सा पास हुने प्रविधिको बिकास भएपछि घर नक्सा पास गर्न आउने सेवा ग्राहीले फाइल बोक्दै हिड्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने नगरबासिले घरमै बसेर आफ्नो काम भए नभएको समेत जानकारी प्राप्त गर्नेछन । बुधबार कावासोती नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले अनलाइन घरनक्सा पास सेवाको उद्घाटन गर्नु भएको छ। कार्यक्रममा नगरप्रमुख चन्द्रकुमारी पुन, उपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती १ का वाड अध्यक्ष नारायण पन्त लगायतले नक्सा पास अनलाइन सेवा तथा यसले सेवाग्राहीलाई हुने फाइदाका बारेमा जानकारी गराएको थिए । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले कावासोती नगरपालिका दिन प्रतिदिन प्रबिधिमैत्री हुँदै गएको र अनलाइन नक्सापास सेवाले नगरवासिलाइ थप सुबिधा हुने विश्वास ब्यक्त गर्नुभयो।