कात्तिक २३ गते मंगलबार २०७८
नवलपुर
विशेष रूपमा नेपालको तराई मधेशमा मनाइने छठ पर्व सोमबारदेखि विधिवत् रूपमा शुरू भएको छ । आज छठ पर्वको दास्रो दिन खरना मनाइँदैछ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
खरना विशेषमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।
साँझपख चन्द्रमाको दर्शन गरेर माटोको नयाँ चुलोमा माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।
यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् ।
नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।
छठ पर्व सोमबारदेखि विधिवत् रूपमा शुरू, पर्वको दास्रो दिन खरना मनाइँदै
