घरHeadlineनेकपा एमालेले १०औँ महाधिबेशन चितवनमा

नेकपा एमालेले १०औँ महाधिबेशन चितवनमा

भरतपुर, ५ कार्तिक । नयाँ नेतृत्वका लागि नेकपा एमालेले १०औँ महाधिबेशन चितवनमा गर्ने भएको छ । एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलको नेतृत्वमा महाधिबेशन हुने भएको छ । चितवन बादलको गृहजिल्ला पनि हो ।

महाधिबेशन आगामी मंसिर १० देखि १२ गतेसम्म हुने छ । माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच टकराव छ । प्रचण्डको पनि गृहजिल्ला चितवन नै हो ।

आगामी चुनावमा प्रचण्डको विरुद्धमा उमेदवारी दिन सक्ने बादलले बताइसकेका छन् । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिबेशन गर्न लागेका अनुमान गरिएको छ । एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिबेशन गर्न लागिएको बताएको छ ।

नेकपा एमाले चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि १०औँ महाधिबेशनले मुख्यगरी दुई वटा सन्देश दिने बताएको छ । अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने एमालेको स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले बताए ।

‘अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठुलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो । महाधिबेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिने छौँ’, उनले भने । त्यसैगरी देशलाई समाजवादतर्फ लैजाने प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले नै भएकाले जनताले ढुक्कसँग विश्वास गर्न सक्ने खालको पार्टीका रुपमा स्थापित गरिने उनले बताए ।

१०औँ महाधिबेशनको खुला सत्र र बन्द सत्र कहाँ गर्ने भन्नेमा एमालेले टुंगो भने लगाइसकेको छैन । एमालेको बिहिबार बसेको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिबेशन गर्ने निर्णय गरेको हो । महाधिबेशनमा देशभरबाट करिब पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।

‘अबको एक हप्ताभित्र महाधिबेशनको खुला र बन्द सत्र कहाँ गर्ने भनेर भेन्यु निर्धारण गरि केन्द्रमा पठाउँछौँ । सम्भाव्य क्षेत्रको खोजि भइरहेको छ । सकभर भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ’, उनले भने, ‘महाधिबेशनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान छ । त्यसकारण नारायणी किनार हुनसक्छ वा अन्य कुनै ठाउँ त्यो हेर्ने छौँ ।’ चितवन पाेष्ट मा न्युज छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया