भाद्र १५, कावासोती
गत बिहीवार रातिदेखि अवरुद्ध पूर्व पश्चिम राजमार्ग एकतर्र्फी सुचारु भएको छ । पुर्व पश्चिम नवलपुरको गैँडाकोटको तेइस स्मृति पुलमा निर्माण गरिएको डाइभर्सन निर्माण भए सँगै मालवाहक सवारी समेत वारपार भइरहेको शसस्त्र प्रहरी कार्यालय पितौजीले जानकारी दिएको छ ।
शसस्त्र प्रहरी कार्यालय पितौजीका डिएसपी बीरभद्र नाथका अनुसार डाइभर्सन माथिबाट फलाम राखेर बलियो बनाएपछि मालवाहक सवारी समेत संचालनमा आएको जानकारी दिनुभयो । विहीवार देखि रोकिएका सवारी वारपार हुँदा ट्राफिक व्यवस्थापनमा भने समस्या देखिएको छ ।
गैँडाकोटदेखि रजहर सम्म रहेको जाम विस्तारै कम हुँदै गएको छ । तर साना सवारी र मोटरसाइकल समेतले सडक अस्तव्यस्त बनेको छ । पुल्चोकमा आधा घण्टा जति सवारी वारपार हुनै सकेको थिए ।
अहिले ट्राफिक व्यवस्थापन थप व्यवस्थित गराउँदै लगेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।
खास गरी ठूला गाडीमा चढेका लामो रुटका यात्रुहरू मुस्किलमा परेका छन् । पाँचौं दिन आइपुग्दा गैंडाकोटदेखि पश्चिम रजहरको फारम बजारसम्म गाडीको लाम रहेको छ ।