खगेन्द्र पराजुली,
१ भदौं, नवलपुर ।
नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै नवलपुरमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई संकलित हस्ताक्षर सहित ज्ञापन पत्र पठाईएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ नवलपुरले सोमवार १० हजार ३ सय जनाको संकलित हस्ताक्षर र ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई बुझाएको हो ।
महासंघ नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेले बुझाएको ज्ञापन पत्र बुझ्दै सिडीओ पंगेनीले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा पत्र पुर्याउन आश्वासन दिईन् ।
बर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजीले जिल्लाका ३५ हजार भूमिहीन, दलित, अब्यवस्थित लाभग्राहीहरुमा चोट पुगेको किसान महासंघ नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेले बताए ।
यस्तै, आयोग खारेजको विरोधमा पोखरामा किसान महासंघ कास्कीद्धारा संकलित हस्ताक्षर सिडीओ कार्यालय कास्कीमा वुझाईएको छ ।
किसान महासंघ कास्कीका अध्यक्ष रघुनाथ भण्डारीले प्रधानमन्त्री समक्ष पु¥याउनका लागि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई संकलित हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर बुझ्दै सहायक सिडीओ पौडेलले सम्बन्धित निकायमा पु¥याइने बताए ।