खगेन्द्र पराजुली,
३० साउन, नवलपुर ।
कावासोती नगरपालिकाको निर्माण सम्पन्न भएको प्रशासनिक भवन उद्घाटन गरिएको छ । १२ करोड बढी लगानीमा निर्माण भएको नगरपालिकाको सुबिधा सम्पन्न भवन नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् ।
कोभिड १९ संक्रमण जोखिम अवस्था कायम रहेकै अवस्थामा उद्घाटन गर्दा तामझाम नगरी सामान्य रुपमा भवन उद्घाटन भएको छ । नागपञ्चमीको दिनको शुभ मुहुर्त पारेर प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरिएको हो ।
पार्किङका लागि एक तला अण्डरग्राउण्ड र प्रशासनिक र विभागीय शाखा कार्यालय प्रयोजनका लागि तीन तला सुविधासम्पन्न भवन बनेको हो । नयाँ भवनबाट शुक्रबारदेखि नै काम शुरु गरिएको छ ।
शुक्रवारदेखि नै कावासोती नगरपालिकामा रहेका सबै विभागीय शाखाले कार्यालय कक्षबाट सेवा शुभारम्भ थालेका छन् ।
प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुन, नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा प्रशासनिक भवन उद्घाटन भएको हो । १२ करोड ८ लाखरुपैंयामा भवन निर्माण भएको जनाईएको छ ।
पार्किङ सहितको ६ तले भवन बनाउने योजना रहेपनि यो चरणमा बजेट अभावमा माथीको दुई तलाको निर्माण योजना कटौती गरेर बनेको डिजाईनमा भवन निर्माण सम्पन्न भएको जनाईएको छ ।
पुरै योजना सहितको भवन निर्माण गर्न सकेको भए तलका दुई तलालाई ब्यवसायिक प्रयोजनका लागि भाडामा दिने र माथीका तीन तलाबाट प्रशासनिक सेवा प्रदान गर्ने नगरपालिकाको सोच रहेको थियो । अहिले बनेको संरचना सबै नगरपालिकाका लागि ठिक्क छ ।
यस्तै, शुक्रवारै देवचुली नगरपालिका वडा नं ११ को वडा कार्यालय भवन उद्घाटन भयो । नगरप्रमुख पूर्णकुमार श्रेष्ठले भवन उद्घाटन गरे ।
यहाँ पनि कोभिड जोखिमकै अवस्थाका कारण न्यून उपस्थितिमा औपचारिक उद्घाटन भएको हो । उद्घाटनमा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख पावता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, वडाका जनप्रतिनिधि लगायतको सिमित उपस्थिति रहेको थियो ।
गत वर्षको साउन–भदौ महिनामै उद्घाटन गर्ने भनिए पनि कोरोनाकै कारण त्यतिवेला उद्घाटन नगरेकोले ०७७ सालकै भदौ १ गतेदखि सेवा प्रवाह भएको हुँदा ढिलै भए पनि भवन उद्घाटन गरिएको वडाध्यक्ष रमेश बहादुर ठाडाले बताए ।
सत्र वटा वडा रहेको देवचुली नगरपालिकामा १४ वटा वडाका प्रशासनिक भवन निर्माण भएका छन् ।