२० साउन, नवलपुर ।
नवलपुरमा सात राजनैतिक दलको बैठकले विमानस्थल देखि प्राविधिक विश्वविद्यालय बनाउनका लागि माग गर्दै आवश्यक पहल गर्ने निर्णय गरेको छ । जिल्लाका सात राजनैतिक दलको बैठकले जिल्लामा सातदलीय गठबन्धनलाई बलियो बनाउँदै विकास निर्माणका काममा सहकार्य गर्ने निर्णय समेत गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
दलहरुको बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्मा बिहानीले केन्द्रमा भएको गठबन्धनलाई जिल्लामा मजवुत बनाउँदै विकास निर्माण र अन्य आवश्यक काममा एकैसाथ अघि बढ्ने निर्णय भएको बताए । सो बैठकले नमुना सदरमुकाम निर्माणबारे भएका कामको प्रगति बारे जानकारी लिँदै अन्य काम अगाडी बढाउन पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले नवलपुरमा एउटा आन्तरिक विमानस्थल बनाउनका लागि तत्काल पहल गर्ने तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको जानकारी गराईयो ।
बैठकले कालीगण्डकी डाइभर्सन गर्ने परियोजना खारेजीको माग पनि गरेको छ । सो परियोजनाले कालीगण्डकी सभ्यतानै जोखिममा पर्ने भएकाले खारेजीको माग गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेको समानान्तर कमिटिका जिल्ला अध्यक्ष सालिकराम भट्टराईले गठबन्धनलाई लामो समयसम्म संगै अगाडी बढाउन आवश्यक भएको बताए ।
देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष पिताम्वर तिवारीले बर्तमान शासन ब्यवस्थालाई संस्थागत र बलियो बनाउनुपर्ने गठबन्धनको दायित्व रहेको भन्ने निर्णय नं. २ मा असहमति जनाउँदै जिल्लाको बिकास निर्माणका एजेण्डामा भने एकमत भएको बताए । तिवारीले बैज्ञानिक जनवादी शासन ब्यवस्था नै अवको विकल्प रहेको जिकिर गर्दै राष्ट्रिय हितका लागि एमसीसी बिरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
संघिय सरकारको नेतृत्व गरेको नेपाली काग्रेस सहित नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी , नेकपा एमालेको माधव नेपाल समुह , राष्ट्रीय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला तहका नेता प्रतिनिधिको सहभागिता थियो ।