२०७८ साउन ९ गते
चितवन । चितवनकी सुजिता भण्डारी बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरी अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो ।
अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा मोबाइलमा चितवनकै टावर सक्रिय देखियो ।भण्डारीको अपहरण नै नभएको आशंकामा खोजविन गरिरहेको प्रहरीलाई झस्काउने घटना ९ दिनपछि सतहमा आयो । ब्रह्मायणी सामुदायिक वनमा भण्डारीको शव २० असारमा भेटिँदा घटनाले रहस्यमय मोड लियो ।
स्थानीयले भण्डारीको हत्या भएको र सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरे । तर शव नजिकै विषको बट्टा पनि देखिएकाले आत्महत्या हुनसक्ने संकेत पनि देखियो ।झण्डै एक महीनापछि शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले भण्डारी मृत्यु प्रकरणको पटाक्षेप भएको दाबी गरेको छ । चितवनका एसपी ओम अधिकारीले प्रेम सम्बन्ध असफल भएपछि सुजिताले आत्महत्या गरेको बताएका छन् ।
परिवारले पनि प्रहरी अनुसन्धानप्रति समर्थन जनाउँदै आत्महत्या दुरुत्साहनको कसूरमा नाताभित्रकै प्रेमीविरुद्ध जाहेरी दिएको छ । भण्डारीकी काकाको छोरा झापा शरणामतीका सचिन भनिने सुकदेव भण्डारीविरुद्ध परिवारले जाहेरी दिएपछि उनी पक्राउ परेका छन् ।