घरHeadlineगण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण

साउन ०८, गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गर्नुभयो । सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रहरीलाई चुस्तदुरुस्त, सङ्गठित र सक्षम बनाउन सबलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको सफलता र असफलताको आधारनै शान्ति सुव्यवस्था र सुशासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिबद्ध छ ।”

प्रहरी नायब महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रणलगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउनुभएको थियो ।

उहाँले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहमा साधन स्रोतको अभाव रहेको उल्लेख गर्नुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया