घरHeadlineआज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै

साउन ५, २०७८ मंगलबार
आषाढ शुक्ल एकादशी अर्थात् आज हरिशयनी एकादशी। घरघरमा तुलसीको विरुवा रोपिँदैछ। हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण दिन आज निराहार व्रत बसी भगवान् विष्णु र तुलसीको पूजा अर्चना गर्ने गरिन्छ।
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर(घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका ठाउँमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया