श्रावण ४,सोमबार
२०७८
आज श्रावण महिनाको पहिलो सोमबार हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ। साउने सोमबारका दिन आज नवलपुर जिल्लामा रहेका शिवालय मन्दिरहरुमा भक्तजनको घुईचो लागेको छ। बिहानैबाट शिवालयमा भिड लागेको छ । तर यसपटक पनि कोरोना भाइरसको महामारी कायमै रुहेकाले स्वास्थ्य मापदण्ड अपनाउदै मन्दिरमा भिड भाड नगर्ने जिल्ला प्रशासनन नवलपुरले आग्रह गरेको छ ।
हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ । श्रावण महिनामा हातमा हरियो पँहेलो चुरा र हरियो पँहेलो कपडा लगाएर शिवको पुजा आजा गर्ने गर्दछन् ।
हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिईन्छ । साउने सोमबारको दिन मनोकामना पुरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने धार्मिक प्रचलन छ ।हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ ।