असार २८, कावासोती
भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले नवलपुरको गैंडाकोट नगरपालिका–६ का वडाध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।
भारतीय नागकिर जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले हिजो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । गैंडाकोट नगरपालिका–६ का वडाध्यक्ष सापकोटाले २०७७ चैत १ गते पहिचान विनै वंशजका आधारमा नागरिकता बनाउन झूठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए ।
‘नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ’ प्रहरी निरीक्षक खनालले भनिन्, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’