पोखरा, १२ असार ।
गण्डकी सरकारले मन्त्रीहरुको कार्यविभाजन भोली आइतबार गर्ने भएको छ । जेठ २९ गते गठन भएको मन्त्रिपरिषद्का ४ जना मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले शुक्रबार ढिला भएकाले आइतबारसम्म मन्त्रीको कार्यविभाजन सक्ने सहमति भएको बताए ।
दलहरुबीच भएको सहमति अनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन् । यसअघि अर्थ या भौतिक पूर्वाधार मन्त्रालयको दावी पेश गरेका खड्काले अहिलेको कार्यविभाजन मन्त्रिपरिषद्ले पूर्णता पाउँदा परिवर्तन हुने बताए । उनी कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यस्तै, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् । जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने भएका छन् । यसअघि उनले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गरेका थिए ।
सरकारले विश्वासको मत लिनलाग्दा आचार्यले अर्थमन्त्रालय चाहिने अड्को थापेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जसपालाई अर्थ मन्त्रालय दिने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी परेपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका थिए ।
अर्का बिना विभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङेले सोही मन्त्रालय पाएका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भुमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए ।