पोखरा, १२ असार ।
जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य ४ असारमा मुख्यमन्त्री पोखरेलसँग गरेको लिखित सहमतिबाट पछि हटेका छन् ।
मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थसहित २ मन्त्रालय दिने, दलीय मान्यता पाउन कायम १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था हटाउने र सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउने सहमति गरेका थिए । तर कांग्रेसले लगातार अनैतिकता प्रस्तुत गरेर सहमतिबाट भाग्न खोजेपछि आचार्यले अर्थ पाउनुपर्ने अडान छाडेका छन् ।
गठबन्धनमा डेडलक बन्न नचाहेको र कांग्रेसले अनावश्यक किचलो बढाएपछि आफूले अडान त्यागेको आचार्य बताउँछन् । ‘
जसपाका आचार्य अडान छाडेर मन्त्रिपरिषद विस्तारमा सकारात्मक बनेकै बेला अर्की सांसद धनमाया लामा पोखरेलले भने यसमा आपत्ति जनाएकी छन् । उनले माओवादीले आफ्नो बारेमा केन्द्रका नेता गुहारेर निषेधको राजनीति गर्न खोजेको भन्दै शुक्रबार सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी थिइन् ।
‘२ मन्त्रालय जसपालाई दिने त सहमति पहिलेकै हो, माओवादीले त जसपालाई २ मन्त्रालय दिनुहुन्न भनेर केन्द्रका नेतामार्फत मुख्यमन्त्रीसँग कुरा राखेछ,’ लामाले भनिन् । यसबारे केही दिनमै आफूले सार्वजनिक रुपमै प्रस्ट पार्ने बताउनुभएको छ ।
तर लामाको दाबी झुटो भएको र माओवादीले त्यसो गर्नुपर्ने कारण नरहेको माओवादीका सांसद रामजीप्रसाद बरालको जिकिर छ । माओवादीले अरु नेताको अस्तित्व स्वीकार्ने र कसैको खुट्टा तान्न नलागेको बरालले बताए । ‘धनमायाजी हाम्रो सहयोद्धा हुनुहुन्छ, माओवादीले त्यसो गर्नुपर्ने कारण छैन,’ बरालले भने ।
सरकारका प्रवक्ता कुमार खड्काले माओवादीका शीर्ष नेताबाट जसपालाई २ मन्त्रालय नदिन दबाब आएको भन्ने कुरा गलत रहेको दाबी गरे । ‘सरकारलाई त्यस्तो किसिमको दबाब छैन, माओवादीले पनि त्यस्तो लबिङ गरेको छैन,’ खड्काले भने ।