१४ जेठ, नवलपुर ।
नवलपुरमा बुधवारदेखि निरन्तर पानी परिराखेको छ । यास नामक समुद्री चक्रवातको प्रभाव नेपाली भू–भागमा परेका कारण नवलपुरमा भारी वर्षा भईराखेको छ । भारी बर्षा सहित नवलपुरमा पनि डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ भने मोवाईलबाट एसएमएस सन्देस समेत प्रवाह गरेको छ ।
नवलपुर, डण्डा, अरुणखोला आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुने देखिएकोले उक्त क्षेत्रभई बहने स–साना खोलाहरुमा बाढी आउने भएकाले थप सतर्क हुन महाशाखाले सुझाव दिएको छ ।
नवलपुरको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहानसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नवलपुरको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपुरको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो ।
उता, चितवनमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
चितवनमा नारायणी र नदीको बाढीले ठूलो क्षति पुग्ने गरेको छ । नारायणी नदीको बाढीबाट धेरैजसो भरतपुर महानगरपालिका–२६, २७ वडाका बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।
यस्तै, श्री नं. २ विपद् व्यवस्थापन गण चितवनको उद्धार गुल्मले भरतपुर १६ बाट नारायणी नदीमा फसेका १५ जना स्थानीयको सकुशल उद्धार गरेको छ ।
भरतपुर १६ कोलाघाटबाट सिद्धगणेश सामुदायिक वनको नदी टापुमा माछा मार्न गएका उनीहरु नारायणी नदी बढ्न गई अड्किएपछि उद्धार गरिएको सेनाले जनाएको छ ।
