
जेष्ठ ५, नवलपुर
बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ नै केन्द्र भएर भूकम्प गएको थियो। यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।
बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दू भएर ५ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर गएको पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चारजना घाइते भएका छन्।
घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ की ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर ११ चितीकी ८३ वर्षीया खकाकुमारी पाण्डे, वडा नम्बर ८ की २९ वर्षीया खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए।
घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ। उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए। घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो। त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पु¥याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ।
उमासहित उनकी छोरी श्रृति पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको एक मिनेटमै भूकम्प गएको थियो। श्रृति मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उनले बताइन्। श्रृतीले भनिन्, ‘घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ।’
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा नम्बर ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नम्बर ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ। त्यस्तै, मध्यनेपाल नगरपालिका मा ३ घरमा क्षति पुगेको छ। अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ। त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखा , तनहु, नवपुर गायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ। जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ। यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन्।