
सप्तरी
सप्तरीको सप्तकोशी नगरपालिकाकी नगर उप–प्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । ३७ वर्षीया चौधरीको विराटनगर स्थित विराट नर्सिङ होम अस्पतालमा आज(मङ्गलवार) बिहान ४ बजे मृत्यु भएको हो । दुई साता अघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजोन परिक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।गर्भवती समेत रहनुभएकी उहाँलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।१० दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममापनि स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा सारिएको थियो ।तीन दिन अघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृत अवस्थामा निकालिएको थियो ।मृतक चौधरीका पति र एक छोरा छन् । उहाँ नेकपा एमालेबाट स्थानीय चुनावमा उप–प्रमुख पदमा विजयी हुनुभएको थियो ।