
गण्डकी
देशका विभिन्न जिल्लामा अक्सिजनको अभावमा अस्पतालहरूले बिरामी भर्ना लिन नै छाडेका तथा भर्ना गरिएकाले पनि अक्सिजन नपाएको अवस्था छ।तर ११ जिल्ला रहेको गण्डकी प्रदेश अहिलेको अवस्थासम्म अक्सिजनमा बलियो देखिएको छ।
प्रदेशमा सक्रिय संक्रमित संख्या करिब ९ हजार रहेको बेला मागभन्दा करिब दोब्बर बढी अक्सिजन उत्पादन क्षमता रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए।
शर्माका अनुसार गण्डकी प्रदेशमा अहिले अक्सिजनको दैनिक उत्पादन प्रतिदिन १४ सय ८९ सिलिन्डर रहेको छ भने दैनिक माग र आपूर्ति आठ सय ४६ सिलिन्डर रहेको छ। यो तथ्याङ्कअनुसार प्रदेशमा उत्पादन भइरहेकोमध्ये ५६ दशमलव ८१ प्रतिशत मात्र अक्सिजन खपत भइरहेको छ।
‘अहिलेसम्मको अवस्थामा अक्सिजनको समस्या हाम्रो प्रदेशमा देखा परेको छैन। हामीले प्रत्येक जिल्लाको उत्पादन क्षमता, माग र खपतको तथ्याङ्क लिएका छौँ।’ प्रशिक्षक शर्माले भने, ‘हामीले सकेसम्म सिलिन्डरहरू खोजेर तयारी अवस्थामा राख्ने काम गरिरहेका छौँ। प्रदेशका सबै जिल्लामा यही अनुसारको तयारी गर्न भनेका छौँ। अहिलेसम्मको अवस्थामा सहज भइरहेको छ। अब सङ्क्रमण दर यो भन्दा पनि अत्यधिक हुँदै गयो भने त आयात गर्नुपर्ने हुन्छ।’
गण्डकी प्रदेशका सात जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरेर अक्सिजन उत्पादनको काम सुरु भइसकेको भए पनि हिमाल पारीको जिल्ला मनाङ, तनहुँ र लमजुङमा भने अक्सिजन प्लान्ट निर्माण गर्ने प्रक्रिया त कुनैमा उत्पादन प्रक्रिया सुरु हुन लागेको छ। अन्य जिल्लामा रहेका विभिन्न अस्पतालहरूमा राखिएका प्लान्टहरूले भने दैनिक उत्पादन दिइरहेका छन्।
सबैभन्दा बढी उत्पादन, माग र खपत हुने कास्कीको पोखरा हो। जहाँ मातृशिशु मितेरी अस्पतालले प्रतिदिन १०, फेवासिटीले ३०, मणिपालले ४०, गण्डकी मेडिकल कलेजले २२, फिस्टेलले ३०, पोखरा अक्सिजनले प्रति घण्टा ३० र कालीगण्डकी अक्सिजनले प्रतिघण्टा २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरेका छन्।
पोखरामा मात्र हाल एक दिनमा कम्तीमा पनि दैनिक छ सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ भने खपत करिब साढे तीन सय सिलिन्डरको आसपासमा हुने गरेको छ। पोखरामा मात्रा सिलिन्डरको कुल संख्या ४५ सय २८ रहेको छ।
मुस्ताङमा दैनिक उत्पादन क्षमता १५ सिलिन्डर रहेको छ। पर्वत अस्पतालमा जोडिएको प्लान्टबाट दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ भने माग र खपत पनि सोही संख्यामा रहेको छ। भौगोलिक रूपमा स्याङ्जा जिल्ला पर्वतभन्दा ठुलो रहेको भए पनि त्यहाँ अक्सिजनको उत्पादन, खपत र माग भने कम रहेको छ। जिल्ला अस्पतालमा दैनिक १० सिलिन्डर अक्सिजन उत्पादन हुने गरेको छ ।
लमजुङमा अक्सिजन प्लान्ट स्थापना भइसकेको भए पनि अब केही दिनमा नै उत्पादन हुन सुरु हुँदै छ। तनहुँमा भने अक्सिजन प्लान्ट निर्माणको लागि टेन्डर प्रक्रिया सुरु भएको निर्देशनालयले जनाएको छ। नवलपुरको मध्यविन्दु अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको भए पनि उत्पादन भने सुरु भएको छैन। त्यहाँ दैनिक १८ सिलिन्डर उत्पादन क्षमता रहने छ। अहिलेको माग र आपूर्ति दैनिक ३५ सिलिन्डर रहेको छ।
धौलागिरि अस्पताल बागलुङमा दैनिक उत्पादन क्षमता ३० सिलिन्डर रहेको छ भने अहिलेको दैनिक माग र खपत एक सय सिलिन्डर रहेको छ। म्याग्दीमा अहिले दैनिक २५ सिलिन्डर अक्सिजनको माग र खपत भइरहेको छ।
तथ्यांकअनुसार गण्डकीका ११ जिल्लामा अक्सिजनका सिलिन्डरहरू ५६ सय ३२ रहेका छन्।