कावासाेति, मंसिर २८

नवलपुर जिल्ला अदालतमा दुई खाद्य उद्योग उपर मुदा दर्ता भएको छ । दुषित एवं न्यून स्तरको खाद्य बस्तु उत्पादन, संचय तथा बिक्री बितरण गरेका दुई वटा खाद्य पदार्थ उत्पादक उपर अदालतमा मुद्दा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ । कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहालका अनुसार नवलपुरको गैंडाकोट ४ मा रहेको माउण्ट एभरेष्ट पिउने पानी उद्योग र चितवनको भरतपुर महानगरपालिका वडा नं. १ मा रहेको कुँवर एण्ड ब्रदर्श ग्रुपको भेजिटेवल सस उत्पादक उपर मुद्धा दर्ता भएको हो ।
बरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालका अनुसार कार्यालयले गर्नुपर्ने सबै अनुसन्धान पुरा गरी खाद्य ऐन २०२३ को दफा ३ बमोजिम मुद्धा दर्ता भएको हो । २०७५ साल असार २१ ग्ते भरतपुर १२ को एक पसलबाट नमूना संकलन गरी हेटौंडा प्रयोगशालामा भएको परिक्षणमा अक्वा हेल्थ केयर ब्राण्डको प्रति एमएल पानीमा हानिकारक सुक्ष्म जीव “यीष्ट–मोल्ड” को मात्रा २८ रहेको पुष्टि भएको जनाईएको छ । वहाँका अनुसार यीष्ट मोल्डको मात्रा पानीमा शून्य हुनुपर्नेहुन्छ ।
यस्तै, २०७५ साल पुस २५ गते कावासोती २ पञ्चकन्या चोकको एक पसलबाट नमूना संकलन भई परिक्षण भएको सफल ब्राण्डको भेजिटेबल ससमा कुल घुलनशील ठोस पदार्थ १५ प्रतिसत हुनुपर्नेमा ४.०८ प्रतिसत मात्र भएको जनाईएको छ ।
दुषित वा न्यून स्तरको खाद्य बस्तु उत्पादन संचय वा बिक्री बितरणका दोषीउपर खाद्य ऐन २०२३ को दफा ५ (१) अनुसार बढीमा ५० हजार रुपैंया जरिवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुनसक्ने कानूनी प्रावधान छ ।