अशाेज ८, नवलपुर — पूर्वी नवलपरासीको रजहरस्थित अस्थायी कोरोना अस्पतालमा रहेका ८२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
अस्पतालका निर्देशक डा विनोद पौडेलका अनुसार अस्थायि काेभिट अस्पताल रजहरमा रहेका १ सय ४० जनाको पीसीआर परीक्षण गरिएकोमा बिहीबार ८२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
अस्पतालमा हालसम्म ५ सय ९९ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिएको छ । तीमध्ये ५ सय २७ जना (पटकपटक गरेर ) निको भइसकेका छन् ।
प्राकृतिक चिकित्सा पद्धति अनुसार उपचार गरिने यो चिकित्सालयमा औषधिको प्रयोगबिनै योग, ध्यान र सन्तुलित खानपानको विधि अपनाइन्छ । यहाँको प्राकृतिक चिकित्सालयलाई हाल अस्थायी कोरोना अस्पतालका रुपमा सञ्चालन गरेर संक्रमितको उपचार गरिँदै आएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ ।