बुलिङटार गाउँपालिकामा शनिबार ६२ वटा सालका गोलाइ बरामद भएका छन् । वडा नम्बर १ को मडडाँडामा कच्ची सडक किनारका ३७ वटा रुख काटिएको स्थानीय चन्द्रबहादुर लंगेलीले जानकारी दिए । शुक्रबार राति तस्करहरूले काटेर सडक किनारमा राखेको काठ देखेपछि स्थानीयले बिहान वन कार्यालयमा खबर गरेका हुन् । काँचो साल र अन्य जातको रूख काटिएपछि वन रेन्जरको टोली घटनास्थल पठाइएको कार्यालयले जनाएको छ ।
गैंडाकोट नगरपालिका–१७, आहालेमा पनि २८ वटा काँचा रुख काटिएका छन् । डिभिजन वन कार्यालय कावासोतीका सूचना अधिकारी शिव श्रेष्ठले कच्ची सडकमा गाडी नचलेको मौका पारेर रातारात रुख काटिएको जानकारी पाएपछि दुबै स्थानमा सुरक्षाकर्मी पठाइएको बताए । रुख काटिएको स्थान महेन्द्र राजमार्गको कावासोतीवाट ३५ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्छ ।
लकडाउन सुरु भएपछि चैत १३ गते ज्योतिकुञ्ज सामुदायिक वनमा समेत तस्करहरूले काठ तस्करी गर्न खोजेका थिए । तस्करी भइरहेको थाहा भएपछि पुगेको वनको टोलीले सो स्थानबाट २ थान आरा, २ गोलिया काठ र एउटा मोटरसाइकल बरामद गरेको थियो । तस्करहरू भागेको र उनीहरूको खोजी भइरहेको वन कार्यालयले जनायो ।