भिम भुसाल, नवलपुर ।

धनाढ्य अरबपती एंवम् सांसद बिनोद चौधरीले भोली (चैत्र २०)देखि नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राम सञ्चालन गर्ने भएका छन् । सरकारले लकडाउनको समयमा नागरिकलाई घर भित्रै बस्न आग्रह गरिरहदा सांसद समेत रहेका चौधरीले उद्योग सञ्चालन गर्ने भनि उद्योगको मूख्य द्धारमा सुचना टाँस गरेका हुन् ।
उद्योगले फुजी प्लाण्ट, वाई एम प्लाण्ट, सिजनिङ प्लाण्ट र हटरुम प्लाण्ट सञ्चालन गर्ने भन्दै श्रमिक तथा कामदार कर्मचारीलाई चैत्र २० गते विहान ६ बजेदेखि उद्योगमा आउन अनुरोध गरेको छ । चाउचाउ प्लाण्टमा मात्रै १३ सय ८० कामदार रहेको चौधरी उद्योग ग्राममा २५ सय भन्दा धेरै कामदार कार्यरत छन् ।
उद्योगले श्रमिक तथा जनशक्तिको स्वास्थ्य सुरक्षाका सबै उपायहरु अपनाउदै उद्योग सञ्चालन गर्ने सुचनामा जानकारी गराएको छ । सुचनामा भनिएको छ, साबुन पानीले पटक पटक हात धुने, स्यानिटाईजर गर्ने, प्रत्येक श्रमिकको तापक्रम मापन गर्ने, मास्क अनिवार्य गर्ने, तिन फिटको दुरी कायम गर्ने, अनावश्यक आवतजावत बन्द गर्ने लगाएतका नियम अवलम्बन गर्दै चाउचाउ उत्पादन गर्ने जनाएको छ । तर उद्योग भित्र तिन फिट दुरीमा बसेर काम गर्ने सम्भावना नै नरहेको श्रमिकहरुले बताएका छन् ।
श्रमिकलाई खाने, बस्ने, र पूर्ण सुरक्षा प्रदान गर्ने गरि चौबिसै घण्टा उद्योगभित्रै ब्यवस्थापन मिलाउनुपर्ने देवचुली नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष गोपालराज शर्मा लम्सालले बताउनुभयो । अन्यथा उद्योग भित्र काम गर्न प्रवेश गरेका श्रमिकलाई उद्योग बाहिर आउन नदिने समेत लम्सालले बताउनुभयो ।
सांसद चौधरीले उद्योग बन्द गरेर कर्मचारीलाई तलब दिन नसक्ने बताउदै जसरी पनि उद्योग सञ्चालन गर्न कर्मचारीलाई दबाव दिएको चौधरी उद्योग ग्राम प्रशासनका एक कर्मचारीले बताएका छन् ।
नेपाल सरकारले अतिआवश्यक खाधान्न उद्योग मात्रै सञ्चालन गर्न लगाउदा चौधरी उद्योगले चाउचाउ उत्पादन गर्न उद्योग सञ्चालन गरि सयौ श्रमिकको जिवनसँग खेलवाड गरेको देवचुली नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । सरकारले लागु गरेको नियम उल्लङ्घन गर्दै देवचुली नगरबासीको स्वास्थ्यलाई थप चुनौती प्रदान गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।
चौधरी उद्योगका प्रमुख धनाढ्य बिनोद चौधरी कोरोना संक्रमणको डरले परिवार सहित दुम्कौलीको चौधरी उद्योग ग्राम क्षेत्र भित्र बस्दै आएका छन् ।