खगेन्द्र पराजुली
पौष, नवलपुर ।
कावासोतीमा छैठौं नवलपुर महोत्सव २०७६ हुने भएको छ । यही आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म कावासोती ३ थकाली चोक स्थित राममन्दिर नविकको खेल मैदान अर्थात् नमूना नवलपुर सदरमुकाम निर्माण स्थलमा महोत्सव हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
आज बिहीवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यहाँको कृषि, पर्यटन, उद्योग ब्यापार र साँस्कृतिक पहिचानलाई पर्बद्धन गर्ने उदेश्यका साथ महोत्सव गर्न लागिएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले बताउनुभयो ।
प्रत्येक २ वर्षमा एक पटक आयोजना गरिने महोत्सवमा यस पटक सरकारले शुरु गरेको भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने उदेश्यका साथ महोत्सव सञ्चालन गरिने दावी गर्नुभएको छ ।
नवलपुरको सदरमुकाम कावासोतीमा हुन लागेको महोत्सव सिमित उदेश्य मात्र प्राप्तिका लागी नभई बृहत्तर क्षेत्रको प्रबर्दनमा फलदायी बनाउनेतर्फ केन्द्रित बनाउन र महोत्सवलाई सफल पार्न सबै क्षेत्रसँग सम्वन्धित सबैले रचनात्मक र सृजनात्मक सुझाव सहित सघाउन अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ ।
पत्रकारहरुका केही जिज्ञासाका जवाफका क्रममा वहाँले महोत्सव मूल समितिले लिएको उदेश्य प्राप्तिका लागी मिडियाको महत्वपुर्ण भूमिका रहेनेमा कुनै सन्देह नरहेकाले स्थानीय उत्पादन, ब्यवसायलायतलाई समेट्न आफुहरु लागी परेकाले यसतर्फ धेरै ध्यान पुर्याईदिन आग्रह गर्नुभयो ।
महोत्सवको पुर्बाद्र्धमै भ्रमण वर्ष २०२० चलिरहने हुँदा नवलपुरका साँस्कृतिक, धार्मिक, ऐतिहासिक, जैबिक पर्यटकीय स्थलको प्रचार प्रसार सहितका गतिबिधि सञ्चालन गरी यस्ता क्षेत्रको प्रबर्दन गर्दै महोत्सवलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
महोत्सव सफल पार्नका लागी नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष्ँ डाँसुराज पोखरेलको संयोजकत्वमा एक मूल समिति र अन्य १८ वटा उप समिति समेत गठन भैसकेको संघका सचिव बैकुण्ठ अर्यालले जानकारी गराउनुभयो ।
महोत्सवमा २ सय ५० वटा ब्यापारीक स्टलका साथै कृषि, शैक्षिक, सुचना र सामाजिक क्षेत्रका २५ वटा गरी २ सय ७५ वटा स्टल रहने जनाईएको छ ।
आयोजकले महोत्सवबाट १ करोड १० लाख रुपैंया आम्दानी गर्ने अपेक्षा गरेको छ भने करीव ९५ लाख ५० हजार रुपैंया खर्च हुने अनुमान समेत गरेको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा ३ लाख दर्शकले अवलोकलन गर्ने लक्ष्य राखेको आयोजकले प्रबेश वापत टिकट शुल्क ६० रुपैंया राखेको छ भने ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागी निशुल्क र परिचय पत्रका साथ उपस्थित बिद्यार्थीका लागी ४० रुपैंया प्रवेश शुल्क राखेको छ ।